दिगो तथा जलवायुमैत्री निर्माण क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको नेपाली संस्था बिल्ड अप नेपाल ले सन् २०२६ को प्रतिष्ठित जायद सस्टेनेबिलिटी पुरस्कार प्राप्त गरेको छ ।
पुरस्कारको राशि १ मिलियन अमेरिकी डलर (झन्डै साढे १४ करोड रुपैयाँ) रहेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानले मंगलबार अबुधाबीमा आयोजित विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरेका हुन् । अबुधाबी सस्टेनेबिलिटी सप्ताहको उद्घाटन अवसरमा आयोजित समारोहमा जलवायु कार्य विधा अन्तर्गत बिल्ड अप नेपाल सम्मानित भएको हो ।
सन् २००८ मा स्थापना भएको जायद सस्टेनेबिलिटी पुरस्कार यूएईको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारमध्ये एक मानिन्छ । यस पुरस्कारले स्वास्थ्य, ऊर्जा, खाद्य, पानी, जलवायु कार्य तथा दिगो विकासका क्षेत्रमा प्रभावकारी योगदान पुर्याउने संस्था तथा परियोजनालाई सम्मान गर्दै आएको छ ।
बिल्ड अप नेपालले कम कार्बन, भूकम्प प्रतिरोधी तथा वातावरणमैत्री इको–ब्रिक्स उत्पादनमार्फत दिगो निर्माण क्षेत्रमा नवीन अभ्यास अवलम्बन गर्दै आएको छ । संस्थाका अनुसार हालसम्म ३३ लाखभन्दा बढी इको–ब्रिक्स उत्पादन, १२ हजारभन्दा बढी सुरक्षित घर निर्माण, दुई हजारभन्दा बढी हरित रोजगारी सिर्जना तथा एक लाख १० हजार टनभन्दा बढी कार्बन उत्सर्जन न्यूनीकरण गर्न सफल भएको छ ।
विशेषगरी जाजरकोट, पश्चिम रुकुमलगायत भूकम्पीय जोखिमयुक्त क्षेत्रहरूमा यो प्रविधि प्रयोग गरी निर्माण लागत घटाउँदै सुरक्षित आवास निर्माणमा महत्वपूर्ण योगदान पुर्याइएको जनाइएको छ । यही योगदानको मूल्याङ्कनस्वरूप नेपालले यो प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो ।
पुरस्कार वितरण समारोहमा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री सहभागी थिए भने पुरस्कार बिल्ड अप नेपालका प्रबन्ध निर्देशक ब्योर्न सोडरबर्गले ग्रहण गरेका हुन् । यस वर्ष स्वास्थ्य, खाद्य, ऊर्जा, पानी, जलवायु कार्य तथा विद्यालय परियोजना गरी छ विधामा पुरस्कार प्रदान गरिएको छ। विद्यालय परियोजना विधामा भने डेढ मिलियन अमेरिकी डलर पुरस्कार राशि रहेको छ ।
दिगो विकासका क्षेत्रमा बिल्ड अप नेपालको योगदानले नेपालको अन्तर्राष्ट्रिय पहिचान थप बलियो बनाएको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।