शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) ले १८ वर्षभन्दा मुनिका बालबालिकालाई निर्वाचन वा राजनीतिक गतिविधिमा प्रयोग नगर्न सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ ।
एनसीईका अध्यक्ष लवराज ओलीले जारी विज्ञप्तिमा बालबालिकालाई जुलुस, सभा, र्याली, आन्दोलन, प्रचार–प्रसार जस्ता प्रत्यक्ष गतिविधिमा संलग्न नगर्न अपिल गरेका छन् । साथै, अप्रत्यक्ष वा प्रतीकात्मक रूपमा झण्डा, नारा, फोटो, भिडियो, सन्देश लगायत डिजिटल माध्यममा बालबालिकाको प्रयोग नगर्न सचेत गराइएको छ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार बालबालिकासम्बन्धी ऐन २०७५, निर्वाचन आचारसंहिता २०८२, तथा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय कार्यढाँचा तथा कार्यान्वयन निर्देशिका २०६८ अनुसार दलीय, राजनीतिक, हिंसात्मक वा निर्वाचनसम्बन्धी गतिविधिमा बालबालिकालाई संलग्न गराउनु पूर्णतः कानुनी रूपमा निषेधित छ ।
एनसीईले भनेको छ, ‘बालिकालाई सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म वा अन्य सञ्चार माध्यममार्फत कुनै पनि व्यक्ति, संस्था वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रयोग गर्नु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन तथा मान्यता विपरीत हो ।’
संस्था अनुसार बालबालिकालाई निर्वाचन गतिविधिमा संलग्न गराउँदा उनीहरूको शिक्षा, सुरक्षा, मानसिक स्वास्थ्य तथा समग्र विकासमा गम्भीर नकारात्मक असर पर्छ । विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय जाने उमेरका बालबालिकालाई आन्दोलन वा निर्वाचनको वातावरणमा तान्नु बाल अधिकारको उल्लंघन मात्र होइन, वयस्कहरूको गैरजिम्मेवार व्यवहार हो ।’
एनसीईले निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न, विद्यालयको नियमित सञ्चालन सुनिश्चित गर्न र बाल अधिकारको सम्मान गर्न सबै सरोकारवालालाई जिम्मेवार व्यवहार अपनाउन आह्वानसमेत गरेको छ। संस्थाका अनुसार, ‘बालबालिका कुनै आन्दोलन वा निर्वाचनका साधन होइनन् । उनीहरू सुरक्षित बाल्यकाल र गुणस्तरीय शिक्षाका हकदार छन् ।’