पर्सागढी नगरपालिका–६ का किसानहरू शुक्रबार आएको हावाहुरीसहितको वर्षाबाट चिन्तित बनेका छन् ।
वर्षाले मकै र गहुँबालीमा प्रभाव पारेको छ भने केही फलफूलबालीमा सकारात्मक असर देखिएको छ । किसानहरूले मकैबालीमा दूधे दाना लाग्न शुरू भएको र गहुँबाली लगभग ७५ प्रतिशत पाकिसकेको जानकारी दिएका छन् ।
बाली लगाउँदा आवश्यक खाद र मल प्रयोग गरिए पनि अहिले बालीमा नोक्सान सुरु भएपछि किसानहरूको चिन्ता बढेको छ । यता, पानीले लिचीका बोटमा सकारात्मक असर गरेको छ । वर्षाका कारण मधुवा कीराहरू भागेका छन्, जसले गर्दा फूल राम्रोसँग विकास हुँदै फल लाग्ने सम्भावना बढेको किसानहरूले बताएका छन् ।
किसानहरूले हावाहुरी र वर्षाको मिश्रित प्रभावले मकै र गहुँमा नोक्सान भए पनि फलफूलमा लाभ भएको बताएका छन् । स्थानीय कृषि अधिकारीहरूले किसानहरूलाई बाली संरक्षणका उपाय अपनाउन सुझाव दिएका छन् । मकै र गहुँमा भएको नोक्सानको मूल्याङ्कन गरेर आवश्यक सहयोग उपलब्ध गराउने तयारी भइरहेको छ ।
पर्सागढी–६ का किसानहरू अब मौसम अनुसार कदम चाल्दै बालीको सुरक्षा र उत्पादन सुनिश्चित गर्ने प्रयासमा छन् ।