पोखराका पर्यटन व्यवसायीले पर्यटकीय नगरी पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जाउँ है पोखरा’ अभियान वीरगञ्जबाट सुरु गरेका छन् ।
होटल सङ्घ पोखरा ले आज वीरगञ्जमा कार्यक्रम आयोजना गरी भारतीय तथा स्वदेशी पर्यटकलाई पोखरा भ्रमणका लागि अनुरोध गरेको हो । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सीमावर्ती सहर वीरगञ्जका पर्यटकलाई पोखरा तथा आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गर्न आग्रह गरे ।
उनले पोखरामा करिब छ खर्ब रुपैयाँको लगानीमा एक हजार दुई सयभन्दा बढी होटल सञ्चालनमा रहेको जानकारी दिए । “पोखरामा एकै दिन ४० हजारभन्दा बढी पर्यटकलाई आतिथ्य सत्कार प्रदान गर्न सक्ने क्षमता छ,” अध्यक्ष सुवेदीले भने, “मनोरम प्राकृतिक दृश्य, तालतलैया र हिमश्रृंखलाको सौन्दर्य अवलोकनका लागि पोखरा उत्कृष्ट गन्तव्य हो ।”
त्यसैगरी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी का अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरासहित गण्डकी प्रदेशका विभिन्न क्षेत्र हिमाली दृश्यावलोकन तथा ट्रेकिङका लागि उपयुक्त गन्तव्य रहेको उल्लेख गर्दै पर्यटकलाई भ्रमणका लागि आग्रह गरे ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ का अध्यक्ष हरि गौतमले पोखराको आतिथ्य सत्कार उत्कृष्ट भएकाले सीमावर्ती क्षेत्रका पर्यटकका लागि पोखरा आकर्षक गन्तव्य बनेको बताए । उनले विगतमा मुग्लिन–पोखरा सडकखण्डको अवस्था कमजोर रहे पनि हाल स्थलमार्गको अवस्था सुधार भएकाले पर्यटक आवागमन सहज बनेको उल्लेख गरे ।
सङ्घका निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवालले सिमरा–पोखरा हवाई सेवा पुनः सञ्चालन गर्न आवश्यक रहेको बताए ।
आयोजकका अनुसार ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत वीरगञ्जपछि विराटनगर, इलाम हुँदै हेटौँडासम्म पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।