नेपाली लेगस्पीनर सन्दीप लामिछाने ले अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क को कीर्तिमान तोडेका छन् ।
उनले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने बलरको नयाँ कीर्तिमान कायम गरेका हुन् । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलमा २ विकेट लिएपछि सन्दीपले ७३ खेलमै १५० विकेट पूरा गरेका हुन् । यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गर्दै कीर्तिमान बनाएका थिए ।
सन्दीप ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीसमेत हुन् । उनले ४२ खेलमै उक्त उ पलब्धि हासिल गरेका थिए ।
सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्ध ओडीआई डेब्यु गरेका २५ वर्षीय सन्दीपले हालसम्म नेपालका लागि ७३ ओडीआई खेलमा १५१ विकेट लिइसकेका छन् । उनले ब्याटिङतर्फ ५०० रनसमेत बनाएका छन् ।
यस्तै, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सन्दीपको प्रदर्शन प्रभावशाली रहेको छ । उनले ७४ टी–२० आई खेलमा १३६ विकेट हात पारिसकेका छन् ।