नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म कुल सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।
यो चालु आर्थिक वर्षको सुरुआतको तुलनामा २ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँले बढी हो । प्रतिवेदनअनुसार पछिल्ला तीन महिनामा मात्रै करिब १ खर्ब १७ अर्ब २५ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको देखिएको छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार हालको कुल ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.८७ प्रतिशत बराबर रहेको छ । कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.४९ प्रतिशत अर्थात् १५ खर्ब ८३ अर्ब ९१ करोड रुपैयाँ रहेको छ भने आन्तरिक ऋण ४६.५१ प्रतिशत अर्थात् १३ खर्ब ७७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण निरन्तर बढ्दै जाँदा देशको वित्तीय व्यवस्थापन र दीर्घकालीन आर्थिक स्थायित्वबारे चासो बढेको अर्थविद्हरूले बताएका छन् ।