म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा एक जना चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको वीरगंज महानगरपालिका–२१ निवासी २३ वर्षीय सोहेल मियाँ रहेका छन् । बुधबार राति करिब ८ बजे ढुङ्गा र माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको विद्युतीय (ईभी) गाडी पुरिएको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र गुल्म हेडक्वार्टर म्याग्दीबाट सशस्त्र प्रहरीसहितको संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो ।
उद्धार टोलीले गाडीभित्र फसेका मियालाई बाहिर निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्याएको थियो । तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
वर्षायाम सुरु भएसँगै पहाडी जिल्लाका विभिन्न सडकखण्डमा पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।