प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिका–२ बाट १०५ ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–५ खोजपुर निवासी ६२ वर्षीय अमिन चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मधेश प्रदेश–०१–००५ प २८८३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलको टुलबक्समा लुकाएर ल्याएको अवस्थामा १०३ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो । चेकजाँचका क्रममा चौधरीको साथबाट थप १ ग्राम ४८० मिलिग्राम खैरो हेरोइन पनि फेला परेको प्रहरीले जनाएको छ ।
मंगलबार इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक श्याममणि पोखरेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले विष्णुपुर–बोदेबर्साइन सडकखण्डबाट उनलाई पक्राउ गरेको हो ।
प्रहरीले बरामद लागुऔषधसहित चौधरीलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।