भारततर्फ लैजाँदै गरेका हुम्लाका २५ जना बालबालिकालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बनबासा नाकाबाट फिर्ता गरेको छ। बिहीबार बिहान १० वर्षमुनिका बालबालिकालाई सीमाबाट फिर्ता गरिएको हो ।
कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर राउतका अनुसार हुम्लाको सिमकोट गाउँपालिकाका ती बालबालिका अहिले गड्डाचौकी प्रहरीको सम्पर्कमा छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याइँदै गरेको उनले जानकारी दिए ।
बालबालिकालाई भारततर्फ लैजानुको कारणबारे अनुसन्धान भइरहेको डीएसपी राउतले बताएका छन्। उनीहरूलाई कसले र कुन प्रयोजनका लागि भारत लैजान लागेको थियो भन्ने विषयमा थप विवरण आउन बाँकी छ ।