वीरगंजमा युवा नेता रन्दिप श्रीवास्तवको अध्यक्षतामा विशेष युवा भेला सम्पन्न भएको छ । त्रिशाला होटलमा आयोजित भेलामा वीरगञ्जका २२० भन्दा बढी युवाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
आगामी २०८४ सालको स्थानीय तह निर्वाचनलाई लक्षित गरी आयोजित भेलाको उद्देश्य युवापुस्तालाई राजनीतिक रूपमा सक्रिय बनाउनु र समाजको नेतृत्वमा अग्रसर गराउनु रहेको बताइएको छ ।
भेलालाई सम्बोधन गर्ने वक्ताहरूले आगामी निर्वाचनमा समाजको सुख–दुःखमा निरन्तर साथ दिने, जनउत्तरदायी र इमानदार प्रतिनिधि चयन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले निर्वाचनमा ठूलो रकम खर्च गरेर आउने ठेकेदार वा व्यापारी पृष्ठभूमिका उम्मेदवार निर्वाचित भएपछि जनहितभन्दा आफ्नो लगानी उठाउने प्रवृत्ति देखिन सक्ने भन्दै त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
भेलाले आगामी स्थानीय तह निर्वाचनका लागि वीरगञ्ज महानगरपालिकाको मेयर पदमा सुधिर पटेललाई अगाडि सार्ने सर्वसम्मत निर्णय गरेको आयोजकले जनाएको छ । सहभागी युवाहरूले आगामी निर्वाचनमा पटेललाई युवाको समर्थनसहित चुनावी मैदानमा उतार्ने र विजयी गराउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय विकास, सुशासन र सामाजिक रूपान्तरणमा युवाको भूमिका सशक्त बनाउनुपर्ने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।