पत्रकारलाई लक्षित गरी सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरी भिडियाे बनाएर राखेकाे आरोपमा कथित कमेडियन भनेका आदर्श मिश्रलाई कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघ पर्साले माग गरेकाे छ ।
पत्रकार महासंघ पर्सा शाखाले आदर्श मिश्रले भिडियो मार्फत वीरगञ्जका पत्रकारहरूलाई तथानाम गालीगलौज गर्दै अमर्यादित शब्द प्रयोग गरेको भन्दै आवश्यक कानुनी कारबाहीको माग गरेको हो । वीरगञ्जमा सडक विस्तारको विषयलाई लिएर सर्वोच्च अदालतको फैसला कार्यान्वयनका क्रममा सडक डिभिजनले सडक क्षेत्रका संरचना हटाएको भिडियो बनाउँदै मिश्रले सामाजिक सञ्जालमा पत्रकारहरूलाई लक्षित गरी अपशब्द प्रयोग गरेको महासंघको आरोप छ ।
महासंघ पर्साले पत्रकारको पेशागत मर्यादा र सुरक्षामाथि आघात पुर्याउने गरी गरिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै दोषीलाई कानुन अनुसार कारबाही गर्न पर्साका प्रहरी उपरिक्षक सुदिपराज पाठकलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।.
घटनाबारे आवश्यक अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइने पर्सा प्रहरीले जनाएको छ ।