भारतबाट सुन तस्करीको बढ्दो घटनासँगै नेपाल–भारत सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँको माग ह्वात्तै बढेको छ । जसले गर्दा अनौपचारिक बजारमा १०० भारतीय रुपैयाँको लागि १६३ रुपैयाँ ५० पैसा देखि १६५ सम्म तिर्नुपर्ने अवस्था आएको छ ।
एक वर्षअघि नेपाली रुपैयाँको उच्च मागका कारण १०० भारतीय रुपैयाँको लागि मात्र १५५ रुपैयाँ तिर्ने अवस्था थियो । तर, अहिले परिस्थिति उल्टिएर भारतीय मुद्राको मागमा तीव्र वृद्धि भएको छ । सीमाक्षेत्रका व्यवसायीहरूका अनुसार सुन तस्करीका कारण भारतीय रुपैयाँको माग बढ्दै गएकाले सटही दरमा उतारचढाव आएको हो ।
गत शनिबार मकवानपुरको रातोमाटेबाट प्रहरीले ८ किलोभन्दा बढी सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू महाराष्ट्रका अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाल रहेको प्रहरीले जनाएको छ । उनीहरूबाट करिब ११ करोड रुपैयाँ बराबरको सुन बरामद भएको हो ।
सुन तस्करीका कारण भारतीय मुद्राको माग बढ्न थालेपछि सीमावर्ती क्षेत्रमा नेपाली रुपैयाँ कमजोर देखिन थालेको छ । यसअघि पनि सुनको अवैध कारोबारले नेपाल-भारत सटही दरमा असर पुर्याएको थियो ।
भारतले सुनको भन्सार महसुल घटाएपछि नेपालमा सुन महँगो भएको छ । यसले गर्दा भारतमा सस्तो सुन खरिद गरेर नेपालतर्फ अवैध रुपमा ल्याउने क्रम बढेको जानकारहरू बताउँछन् ।