अस्पतालमा उपचारका लागि ल्याइएका एक बालकको मृत्यु भएको घटनालाई लिएर सिरहाको भगवानपुर गाउँपालिका–४ कल्याणपुर तनावग्रस्त बनेको छ ।
उपचारमा ढिलाइ भएको र एम्बुलेन्स समयमै उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन् । स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गरेपछि हुलाकी सडक अवरुद्ध गर्दै आन्दोलन सुरु गरेका छन् । सडकमा टायर तथा काठ बालेर स्थानीयले चक्काजाम गरेका छन्, जसका कारण यातायात सेवा प्रभावित भएको छ ।
स्थानीयका अनुसार सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डललाई सर्पले टोकेपछि भगवानपुर–४ कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको थियो । तर, समयमै उपचार र एम्बुलेन्स सेवा उपलब्ध नभएका कारण बालकको मृत्यु भएको आरोप उनीहरूको छ ।
एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स लैजान नमिल्ने बताएपछि उपचारमा ढिलाइ भएको स्थानीयको दाबी छ । बालकलाई थप उपचारका लागि लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । घटनापछि बिहान ११ बजे गाउँपालिका अध्यक्षसँग वार्ता गर्ने तयारी भए पनि अध्यक्ष वार्तास्थलमा नआएको भन्दै आन्दोलनकारी थप आक्रोशित बनेका छन् ।
आन्दोलनका अगुवा प्रविन्द यादव र इन्दल मण्डलले गाउँपालिका अध्यक्षले घटनाप्रति बेवास्ता गरेको आरोप लगाएका छन् । हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । यता प्रहरीले घटनाको अनुसन्धान गरिरहेकाे जनाएको छ ।
एम्बुलेन्स सञ्चालनका लागि अध्यक्षको अनुमति आवश्यक थियो वा थिएन, उपचारमा ढिलाइ किन भयो र बालकको मृत्युमा कसको लापरबाही थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।