काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग अनुहार मिलेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको एक भैंसीलाई बंगलादेशको राष्ट्रिय चिडियाखानामा राखिने भएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ३८ वर्षीय मालिक जिया उद्दीन मृदाले उक्त भैंसी बिक्री गरिसकेपछि नयाँ मालिकले इदको अवसरमा काट्ने तयारी गरेका थिए । तर, सामाजिक सञ्जालमा अत्यधिक चर्चा भएपछि सरकारी अधिकारीहरूले अन्तिम समयमा हस्तक्षेप गर्दै भैंसीलाई जोगाएका हुन् ।
अधिकारीहरूले भैंसीलाई खरिद गरी संरक्षणमा राख्ने निर्णय गरेका छन् । अब उक्त भैंसीलाई ढाकास्थित राष्ट्रिय चिडियाखानामा स्थानान्तरण गरी सुरक्षित रूपमा राखिने जनाइएको छ ।
झन्डै ७ सय केजी तौल रहेको उक्त भैंसीका तस्बिरहरू सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेका छन् । लाखौं प्रयोगकर्ताले फोटो हेरेका छन् भने धेरैले मजाकीय शैलीमा त्यसलाई ‘डोनाल्ड ट्रम्प’ नाम दिएका छन् ।
अधिकारीहरूका अनुसार अत्यधिक जनचासो र सुरक्षाका कारण भैंसीलाई संरक्षणमा राख्ने निर्णय गरिएको हो । चिडियाखाना प्रशासनले सर्वसाधारणलाई सुरक्षित रूपमा अवलोकन गराउने व्यवस्था मिलाइने जनाएको छ ।
पूर्व मालिक मृदाका अनुसार उनका भाइले भैंसीको कपाल र टाउकोको बनावट अमेरिकी राष्ट्रपति ट्रम्पसँग मिलेको भन्दै मजाकमा ‘डोनाल्ड ट्रम्प’ नाम राखेका थिए । उनले अल्बिनो प्रजातिको उक्त भैंसी शान्त स्वभावको रहेको र उचित आहारका कारण स्वस्थ रहेको बताएका छन् ।
यसैबीच, बंगलादेशमै करिब ७५० केजी तौल भएको अर्को भैंसी पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रयोगकर्ताहरूले त्यस भैंसीलाई बेन्जामिन नेतान्याहू को नामसँग तुलना गर्दै ‘बेन्जामिन नेतान्याहू’ नाम दिएका छन् ।