नेपाली फिल्म क्षेत्रमा मधेशी कलाकारमाथि विभेद र दुर्व्यवहार हुने गरेको गम्भीर आरोप सार्वजनिक भएको छ ।
कलाकारले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साझा गर्दै फिल्म ‘चिरञ्जिवी भवः’ को सुटिङका क्रममा आफूले जातीय तथा क्षेत्रीय पहिचानका आधारमा अपमान, मानसिक तनाव र पेशागत अन्याय भोग्नुपरेको कालाकार काजल कर्णले दाबी गरेकी छन् ।
उनका अनुसार फिल्ममा अनुबन्धित भएपछि सुरुदेखि नै लुगा, यातायात र विभिन्न काम सम्बन्धी व्यवस्थापनले असहयोग गरिएको बताएकी छन् । सुटिङस्थलमा पुगेपछि केही प्राविधिक र कलाकारबाटै आफूलाई ‘मधेशी’ भनेर होच्याउने, रंग र पहिचानमाथि टिप्पणी गर्ने तथा अपमानजनक व्यवहार गरिएको उनले आरोप लगाएकी छन् ।
कलाकारले स्क्रिप्टमा नभएका दृश्य जबर्जस्ती गराइएको, कलाकारको सट्टा मजदुरसरह काम गराइएको तथा पारिश्रमिकसम्बन्धी विषयमा समेत बेवास्ता गरिएको उनले दाबी गरेकी छन् । उनले आफूलाई कुनै पूर्वजानकारी बिना फिल्मबाट हटाएर अर्का कलाकारलाई समेत खेलाइएकाे आरोप समेत लगाएकी छन् ।
यो घटनाले नेपाली फिल्म उद्योगभित्र समावेशिता, समान अवसर र पेशागत मर्यादाको विषयमा नयाँ बहस सुरु गरेको छ ।