नेपालिज यङ्ग इन्टरप्रेन्योर्स फोरम (NYEF) वीरगंज च्याप्टरले २०२५/२६ को ‘वर्षको उत्कृष्ट शाखा’ अवार्ड प्राप्त गरेको छ ।
च्याप्टर व्यवस्थापन, उत्कृष्ट नेतृत्व, सदस्य सहभागिता, प्रभावकारी कार्यक्रम सञ्चालन तथा उद्यमशीलता प्रवर्द्धनमा पुर्याएको योगदानको कदरस्वरूप वीरगञ्ज च्याप्टरलाई उक्त सम्मान प्रदान गरिएको हो । २०२५/२६ को कार्यकालमा तत्कालीन अध्यक्ष विश्वास शाहको नेतृत्वमा वीरगञ्ज च्याप्टरले उद्यमशीलता विकास, व्यावसायिक नेटवर्किङ, क्षमता अभिवृद्धि, महिला उद्यमशीलता, नीति संवाद, खेलकुद तथा सामाजिक गतिविधिलगायत विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।
यस्ता गतिविधिमार्फत सदस्यहरूलाई एकआपसमा जोड्दै व्यावसायिक अवसर सिर्जना गर्नुका साथै युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने प्रयास गरिएको तत्कालीन अध्यक्ष विश्वास शाहले बताए । शाहका अनुसार प्राप्त सम्मान कुनै एक व्यक्तिको नभई सम्पूर्ण वीरगञ्ज च्याप्टरको सामूहिक उपलब्धि हो।
“यो अवार्ड मेरो व्यक्तिगत उपलब्धि होइन, वीरगंज च्याप्टरका प्रत्येक सदस्य, कार्यसमिति, चेयर, कोअर्डिनेटर, स्वयंसेवक तथा शुभेच्छुकहरूको सामूहिक मेहनतको परिणाम हो । सबैको साथ, विश्वास र समर्पणबिना यो सम्भव हुने थिएन,” शाहले भने। अवार्डसँगै २०२५/२६ को कार्यकालमा वीरगंज च्याप्टरले सञ्चालन गरेका विभिन्न गतिविधि तथा पहलहरूको उच्च मूल्याङ्कन भएको जनाइएको छ ।
२०२५/२६ को कार्यकाल सम्पन्न भएसँगै वीरगंज च्याप्टरको नयाँ नेतृत्व २०२६/२७ का अध्यक्ष चन्दन सिंहले सम्हालेका छन् ।
‘वर्षको उत्कृष्ट शाखा’ अवार्डले वीरगञ्जमा युवा उद्यमशीलता, नेतृत्व विकास, व्यावसायिक सहकार्य तथा नेटवर्किङलाई थप सुदृढ बनाउन च्याप्टरलाई थप उत्साह प्रदान गरेको जनाइएको छ ।