वीरगंजस्थित नारायणी अस्पतालले पर्साका ३५ जना एम्बुलेन्स चालकलाई ‘बेसिक लाइफ सपोर्ट’ (बीएलएस) तालिम दिएको छ ।
पर्सा जिल्लामा प्रथम उद्धारकर्ताका रूपमा कार्यरत एम्बुलेन्स चालकलाई लक्षित गरी जीटीए फाउन्डेसनको सहकार्यमा नारायणी अस्पतालमा प्राथमिक जीवन रक्षा अर्थात् ‘बेसिक लाइफ सपोर्ट’ तालिम सञ्चालन गरिएको हो ।आकस्मिक स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले बिहीबार आयोजित तालिममा सहभागी एम्बुलेन्स चालकलाई बिरामी वा घाइतेको मुटुको धड्कन तथा सास रोकिँदा गरिने कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर), श्वासप्रश्वास प्रणाली सहज बनाउने विधि तथा अस्पताल पुर्याउनुअघि बिरामी वा घाइतेको अवस्था स्थिर राख्ने व्यावहारिक सीप प्रदान गरिएको अस्पतालले जनाएको छ ।
एम्बुलेन्स चालकलाई आपत्कालीन अवस्थामा बिरामीको प्रारम्भिक उद्धार तथा प्राथमिक उपचारका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
यसअघि बुधबार वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पनि ३४ जना एम्बुलेन्स चालकलाई ‘बेसिक लाइफ सपोर्ट’ तालिम दिएको थियो ।