वीरगंज । मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको ११औँ वार्षिकोत्सव कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ।
वीरगंजस्थित क्लासिक होटलमा आयोजित वार्षिकोत्सव समारोहका प्रमुख अतिथि पर्सा क्षेत्र नं. १ का सांसद हरि पन्तले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
पत्रिकाकी सम्पादक कविता खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौत्तम, संघका पूर्वअध्यक्ष सुबोध गुप्ता, मधेश प्रदेश मिडिया काउन्सिलकी बन्दना झा, डा। लक्ष्मी थापालगायत सञ्चार क्षेत्र, उद्योग–व्यवसाय तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले मध्य नेपाल सन्देश साप्ताहिकले विगत ११ वर्षदेखि स्थानीय तथा राष्ट्रिय सरोकारका विषयलाई प्राथमिकतामा राख्दै नागरिकका आवाजलाई सञ्चारमाध्यममार्फत उठान गर्दै आएको बताएका थिए। स्थानीयस्तरका समस्या, सामाजिक सरोकार, विकास निर्माण तथा समसामयिक विषयलाई निरन्तर स्थान दिँदै पत्रिकाले सञ्चार क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको उनीहरूको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि सांसद हरि पन्तले सञ्चारमाध्यम लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै नागरिकका समस्या र आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए। उनले पत्रकारिताले सत्य, तथ्य र निष्पक्षतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
त्यस्तै, कार्यक्रममा सहभागी वक्ताहरूले पछिल्लो समय सञ्चार क्षेत्रमा प्रविधिको तीव्र विकाससँगै चुनौतीहरू पनि थपिँदै गएको भन्दै पत्रकारिता क्षेत्रले आफ्नो विश्वसनीयता कायम राख्न तथ्यमा आधारित र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।
मध्य नेपाल सन्देश साप्ताहिकले आफ्नो ११ वर्षे यात्रामा विभिन्न उतारचढावका बीच निरन्तर प्रकाशन हुँदै आएको र आगामी दिनमा पनि समाजका आवाजलाई प्राथमिकताका साथ उठान गर्ने प्रतिबद्धता जनाएको छ।
वार्षिकोत्सव समारोहमा पत्रिकाको स्थापनादेखि हालसम्मको यात्रामा सहयोग गर्ने पाठक, शुभेच्छुक, विज्ञापनदाता, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूप्रति आभार व्यक्त गरिएको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूले मध्य नेपाल सन्देश साप्ताहिकको आगामी यात्रा अझ प्रभावकारी, विश्वसनीय र सफल बन्ने शुभकामना व्यक्त गरेका थिए। साथै, स्थानीय पत्रकारितालाई थप मजबुत बनाउँदै नागरिकका वास्तविक समस्या र सरोकारका विषयलाई निरन्तर प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो।
११औँ वार्षिकोत्सव समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्व, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।