वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाले भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि ५ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा २०८३ भदौ १४ गते आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले बाढीपीडितको सहयोगका लागि विभिन्न शीर्षकमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ। साथै, बाढीबाट प्रभावित नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार, स्वास्थ्य लाभ तथा राहतको कामना गरिएको छ।
गाउँपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट ५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
त्यसैगरी, गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको एक महिनाको सुविधा बराबरको रकम आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ। गाउँपालिकाका स्थायी कर्मचारीको हकमा नेपाल सरकारको निर्णयबमोजिम आर्थिक सहयोग गर्ने व्यवस्था गरिएको छ।
करार सेवामा कार्यरत कर्मचारीहरूबाट समेत आर्थिक सहयोग जुटाउने निर्णय गरिएको छ। जसअनुसार अधिकृत स्तरका कर्मचारीको सुरु तलब स्केलको ५ (पाँच) बराबर तथा सहायक र श्रेणीविहीन कर्मचारीहरूको ३ (तीन) दिन बराबरको रकम कट्टा गरी आर्थिक सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार, व्यवस्थापन तथा पुनर्निर्माणका लागि सहयोग आवश्यक रहेको भन्दै उक्त निर्णय गरेको जनाएको छ।
जगरनाथपुर गाउँपालिकाले विपद्को समयमा मानवीय सहयोग र एकताका साथ प्रभावित नागरिकको साथमा उभिन सबैलाई आग्रहसमेत गरेको छ।