भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकको राहत तथा पुनःस्थापनाका लागि पर्साको ठोरी गाउँपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित बाढीपीडितका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। सोमबार बसेको ठोरी गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिको एक महिनाको तलब–भत्ता तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम जुटाएर कुल ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
बैठकले गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीबाट समेत संघीय सरकारले विपद् प्रभावितका लागि सहयोग गर्ने सम्बन्धमा गरेको निर्णयअनुसार तोकिएको रकम सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार बाढीका कारण ठूलो क्षति व्यहोरेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएकाले गाउँपालिकाले आफ्नो स्रोतबाट सहयोग गर्ने निर्णय गरेको हो।
अध्यक्ष श्रेष्ठले आवश्यकता अनुसार अन्य स्रोत तथा सहयोगी र इच्छुक व्यक्ति तथा संस्थाबाट समेत सहयोग संकलन गरी बाढीपीडितलाई सकेसम्म सहयोग गर्ने अभियानमा गाउँपालिका लागिपरेको बताए ।
उहाँले विपद्को समयमा सबै पक्षको सहकार्य आवश्यक रहेको भन्दै स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा सर्वसाधारणलाई समेत प्रभावित परिवारको राहत र पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेका छन् ।
भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, आवास तथा अन्य अत्यावश्यक सामग्रीको आवश्यकता रहेकाले स्थानीय तह र विभिन्न संघसंस्थाले राहत तथा पुनःस्थापनाका कार्यक्रम अघि बढाउँदै आएका छन्। ठोरी गाउँपालिकाले पनि आफ्नो तर्फबाट आर्थिक सहयोगसँगै आवश्यकता पहिचान गरी थप सहयोग जुटाउने जनाएको छ।