वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर बेपत्ता भएका पर्साको पोखरिया नगरपालिका–रानीगञ्जका सोनालाल पण्डित ६ दिन बितिसक्दा पनि फेला नपरेपछि परिवारजनले कुशको प्रतीक बनाएर हिन्दु धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कार गरेका छन्।
रसुवामा आएको बाढी तथा पहिरोका क्रममा बेपत्ता भएका पण्डितको आफन्त तथा सुरक्षाकर्मीको पहलमा खोजी गर्दा समेत अवस्था पत्ता लाग्न नसकेपछि परिवारले बाध्य भएर सोमबार उनको कुशको प्रतीकात्मक आकृति बनाएर दाहसंस्कार गरेका हुन्।
पण्डित बाढीमा बेपत्ता भएपछि परिवारजनले उनको सकुशल उद्धार हुने आशामा निरन्तर खोजी तथा प्रतीक्षा गरिरहेका थिए। तर, घटना भएको ६ दिनसम्म पनि कुनै जानकारी प्राप्त नभएपछि हिन्दु धार्मिक परम्पराअनुसार कुशको प्रतीक बनाएर अन्तिम संस्कार गरिएको परिवारजनले बताएका छन्।
दाहसंस्कारका क्रममा आफन्त तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। लामो समयसम्म बेपत्ता रहेका पण्डितको वास्तविक अवस्था अज्ञात रहेकै अवस्थामा अन्तिम संस्कार गर्नुपरेपछि परिवारजन भावुक बनेका थिए।
परिवारका सदस्यहरूले आफ्नो आफन्तको अवस्था अझै यकिन हुन नसकेको भन्दै खोजी कार्य भने नरोक्न आग्रह गरेका छन्। बाढी तथा पहिरोका कारण नदी तथा आसपासका क्षेत्रमा जोखिमपूर्ण अवस्था रहेकाले खोजी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन उनीहरूले सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग अनुरोध गरेका छन्।
स्थानीयवासीले पनि बाढीमा बेपत्ता भएका पण्डितलगायत अन्य व्यक्तिको खोजीलाई प्राथमिकताका साथ अघि बढाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
पण्डितको कुशको प्रतीक बनाएर अन्तिम संस्कार गरिए पनि उनको वास्तविक अवस्था भने अझै अज्ञात रहेको परिवारजनले बताएका छन्। त्यसैले खोजी तथा सम्भावित पहिचानको प्रक्रिया जारी राख्नुपर्ने उनीहरूको माग छ।