सर्लाहीमा बारुलाको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विष्णु गाउँपालिका–३ मधुवन गोठकी ७६ वर्षीया रहन देवी महतोको बारुलाले टोकेपछि उपचारका क्रममा मृत्यु भएको हो।
घर नजिकैको खेतमा घाँस काट्ने क्रममा बारुलाले टोकेपछि गम्भीर घाइते भएकी रहन देवीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो।
जनकपुरमा उपचार भइरहेको अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए।
मृतक रहन देवी जोगिन्द्र महतोकी श्रीमती हुन्। उनको शव जनकपुरस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमपछि छोरा रामनरेश महतोलाई बुझाइएको प्रहरीले जनाएको छ।