वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि वीरगञ्ज उद्योग वाणिज्य संघले १५ लाख १ हजार १०१ रुपैयाँ सहयोग गरेको छ।
संघले उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
बाढीका कारण रसुवाको स्याफ्रुबेँसी, टिमुरे तथा नुवाकोट, धादिङ र गोरखालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै संघले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ।
संघले बाढीपीडित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकारका सम्बन्धित निकाय, विभिन्न संघ–संस्था तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रहसमेत गरेको छ।
प्राकृतिक विपद् तथा संकटका समयमा विगतदेखि नै प्रभावित समुदायलाई सहयोग गर्दै आएको संघले आगामी दिनमा पनि मानवीय तथा सामाजिक कार्यमा निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
चेक हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद गौतम, निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोज रुँगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव अनुप अग्रवाल, कार्यकारी सचिव सुनिलकुमार कण्ठ लगायतको उपस्थिति थियो।