रसुवा, नुवाकोट र धादिङ जिल्लामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पर्साको पटेर्वा सुगौली गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।
गाउँपालिकाको भदौ १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले विपद् व्यवस्थापन कोषबाट एकमुष्ट ५ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले जानकारी दिए । प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
गाउँपालिकाले जनप्रतिनिधिहरूको मासिक सेवा–सुविधाबाट रकम कट्टा गरी थप आर्थिक सहयोग गर्ने जनाएको छ। गाउँपालिकामा कार्यरत कर्मचारीहरूले पनि नेपाल सरकारको निर्णयबमोजिम सहयोग गर्ने बताइएको छ ।निर्णयअनुसार संकलन हुने सम्पूर्ण रकम यथाशीघ्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा दाखिला गरिने प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष चौधरीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न नागरिक, संघ–संस्था तथा सबै सरोकारवालालाई अपिल गरेका छन् ।