रोजगारीका लागि भारतको केरला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका–४ का २९ वर्षीय वीरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल ल्याउन गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
स्थानीय विनय द्विवेदीका अनुसार रामायण मुखिया बिनका माहिला छोरा वीरेन्द्र करिब एक महिनाअघि रोजगारीको सिलसिलामा भारतको केरला गएका थिए । एक साताअघि अचानक ज्वरो आएपछि उनलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आइतबार राति उनको अचानक निधन भएको परिवारजनले बताएका छन् ।
भारतको केरलाबाट शव नेपाल ल्याउन करिब २ लाख रुपैयाँ खर्च लाग्ने भएपछि आर्थिक रूपमा विपन्न परिवार शोकसँगै आर्थिक समस्यामा परेको थियो । शव घर ल्याउन आवश्यक रकम जुटाउन नसकिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष यादव पीडित परिवारको घरमै पुगेका थिए।
गाउँलेहरूको उपस्थितिमा अध्यक्ष यादवले स्वर्गीय वीरेन्द्रको शव नेपाल ल्याउन लाग्ने करिब २ लाख रुपैयाँ तत्काल सहयोग गर्ने घोषणा गरेका हुन् । अध्यक्ष यादवको सहयोग घोषणाप्रति पीडित परिवार तथा स्थानीयवासीले आभार व्यक्त गरेका छन्। स्थानीयले दुःख र पीडामा परेका गरिब तथा असहाय परिवारलाई सहयोग गर्दै आएको भन्दै अध्यक्ष यादवको प्रशंसा गरेका छन् ।
यसैगरी, अध्यक्ष यादवले स्वर्गीय वीरेन्द्रकी श्रीमती तथा उनका तीन छोराछोरीलाई आगामी दिनमा समेत आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । वीरेन्द्रको अचानक निधनपछि मुखिया बिन परिवारमा शोक छाएको छ। गाउँपालिकाको सहयोग घोषणाले उनको शव नेपाल ल्याउने प्रक्रियामा राहत पुग्ने अपेक्षा गरिएको छ ।