बारा । बाराको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोर्डिङ स्कुलका करिब १९० जना विद्यार्थीलाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको छ।
विद्यालयको सभाहलमा सोमबार आयोजित कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रमुख ट्राफिक प्रहरी सहायक निरीक्षक (असई) प्रिन्शानन्द यादवले कक्षा ९ का १०५ र कक्षा १० का ८५ जना विद्यार्थीलाई ट्राफिक नियम, सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका उपायबारे प्रशिक्षण दिएका हुन्।
प्रशिक्षणका क्रममा विद्यार्थीलाई चालक अनुमतिपत्रको आवश्यकता, जेब्रा क्रसिङको प्रयोग, सडक सांकेतिक चिन्हको पहिचान, ट्राफिक बत्तीको अर्थ तथा सडक पेटीको सुरक्षित प्रयोगबारे जानकारी गराइएको थियो।
त्यसैगरी, पैदलयात्रुले सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, मोटरसाइकल तथा स्कुटर चलाउँदा हेल्मेटको अनिवार्य प्रयोग, सवारीसाधनमा यात्रा गर्दा सिटबेल्ट लगाउने तथा सवारीसाधनको क्षमताभन्दा बढी यात्रु नराख्नेलगायतका विषयमा विद्यार्थीलाई सचेत गराइएको थियो।
ट्राफिक प्रहरीले सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, तीव्र गतिमा सवारी नचलाउन तथा मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन पनि विद्यार्थीलाई आग्रह गरेको थियो।
सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा झ्याल वा ढोकाबाट शरीर बाहिर ननिकाल्ने, चलिरहेको सवारीमा चढ्ने वा ओर्लने नगर्ने तथा सवारीभित्र जोखिमपूर्ण गतिविधि नगर्नेसम्बन्धी जानकारी पनि प्रशिक्षणमा दिइएको थियो।
कार्यक्रममा ट्राफिकसम्बन्धी ऐन, कानुन तथा नियम उल्लंघन गर्दा हुने कारबाही र जरिवाना, सवारी दुर्घटनाका प्रमुख कारण तथा दुर्घटना न्यूनीकरणमा विद्यार्थीको भूमिका विषयमा समेत जानकारी दिइएको थियो।
ट्राफिक प्रहरी जवान विरेश यादवले प्रशिक्षण कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रममा बाल एकता बोर्डिङ स्कुलका सह–प्रबन्धक संगीता सरार्फ, माध्यमिक तहका संयोजक प्रशान्त सरार्फ, प्रियान्सु सरार्फ, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
ट्राफिक प्रहरीले विद्यार्थीलाई सानै उमेरदेखि सडक सुरक्षा र ट्राफिक नियमबारे सचेत गराउन सके भविष्यमा जिम्मेवार चालक तथा सुरक्षित सडक प्रयोगकर्ता निर्माणमा सहयोग पुग्ने जनाएको छ।