वीरगंज । बारा–पर्सा औद्योगिक करिडोरबाट काठमाडौं उपत्यकातर्फ हुने मालसामानको ढुवानी कृष्णभीरमा सडक भासिएपछि ठप्प बनेको छ। काठमाडौं प्रवेश गर्ने मुख्य सडक अवरुद्ध भएपछि वीरगंज भन्सार नाका हुँदै भित्रिएका खाद्यान्न, निर्माण सामग्री, औद्योगिक कच्चा पदार्थ तथा दैनिक उपभोग्य वस्तु बोकेका सयौं मालवाहक सवारी बाटोमै रोकिएका छन्।
कृष्णभीरमा त्रिशूली नदीको कटानका कारण सडकको जग नै भासिएपछि तत्काल मुख्य राजमार्ग सञ्चालनमा आउने अवस्था नरहेको व्यवसायीले बताएका छन्। वैकल्पिकका रूपमा प्रयोग गर्न खोजिएको त्रिभुवन राजपथ र कान्ति राजपथ साँघुरो तथा जोखिमपूर्ण भएकाले ठूला मालवाहक ट्रक सञ्चालन गर्न कठिन हुँदा बारा–पर्साबाट काठमाडौंसम्मको ढुवानी चक्र नै प्रभावित भएको ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य सन्तोष कार्कीले बताएका छन्।
उनका अनुसार सोमबार काठमाडौंका लागि हिँडेका सयौं ट्रक नौबीसे–हेटौंडा खण्डमा जाममा रोकिएपछि मंगलबारदेखि बारा–पर्साबाट काठमाडौं जाने मालवाहक ढुवानी थप प्रभावित भएको हो। साना चारपांग्रे सवारीबाट अत्यावश्यक सामान लैजान सकिने भए पनि ठूला ट्रकमार्फत नियमित ढुवानी गर्न सक्ने अवस्था नरहेको व्यवसायीको भनाइ छ।
बारा–पर्सा औद्योगिक करिडोर तथा वीरगंज भन्सार नाकाबाट दैनिक ठूलो परिमाणमा मालसामान काठमाडौं उपत्यकासहित देशका विभिन्न बजारमा जाने भएकाले सडक अवरोधले उद्योगदेखि बजारसम्म प्रत्यक्ष असर पार्ने देखिएको छ। ढुवानी लामो समय अवरुद्ध भए उद्योगको उत्पादन, भन्सारबाट सामान निकासी तथा उपत्यकाको बजारमा अत्यावश्यक वस्तुको आपूर्तिमा समेत समस्या आउन सक्ने उद्योगी–व्यवसायीले चेतावनी दिएका छन्।
उद्योग वाणिज्य संघ वीरगंज अध्यक्ष हरि गौतमले ढुवानी रोकिँदा करिडोरका उद्योगको उत्पादन प्रभावित हुनुका साथै वीरगञ्ज भन्सारमा आयातीत सामान थुप्रिने र आयातकर्तामाथि आर्थिक दबाब बढ्ने बताएका छन्। काठमाडौं उपत्यकामा आपूर्ति घट्दा केही वस्तुको अभाव र मूल्यवृद्धिको जोखिमसमेत बढ्न सक्ने उनको भनाइ छ।
सरकारले भने मुख्य सडक तत्काल सञ्चालन गर्न सम्भव नभएपछि वैकल्पिक मार्गमार्फत सवारी व्यवस्थापनको प्रयास थालेको छ। मकवानपुर प्रशासनले त्रिभुवन राजपथमा निश्चित समयमा सवारी सञ्चालन गर्ने व्यवस्था मिलाएको छ भने मालवाहक सवारीलाई कान्ति राजपथ हुँदै काठमाडौं पठाउने तयारी गरेको छ। तर ती सडकमा ठूला मालवाहक सवारी सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा अनुमति नहुँदा वैकल्पिक मार्ग पनि तत्काल प्रभावकारी बन्नेमा व्यवसायीले आशंका गरेका छन्।
वीरगंज–पथलैया औद्योगिक करिडोर तथा वीरगंज भन्सारबाट दैनिक ठूलो संख्यामा मालवाहक सवारी काठमाडौं र आसपासका बजारतर्फ जाने भएकाले कृष्णभीरको सडक अवरोध केवल यातायातको समस्या नभई उद्योग, व्यापार, भन्सार, आपूर्ति र उपभोक्ता बजारसम्म असर पार्ने राष्ट्रिय आपूर्ति शृंखलाको संकट बन्ने जोखिम बढेको छ।