भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बाढी प्रभावित परिवारको तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जगदम्बा इन्टरप्राइजेजले जनाएको छ । कम्पनीले बाढी प्रभावित क्षेत्रमा हुने पुनःस्थापना तथा पुनर्निर्माणका कार्यका लागि आफ्ना उद्योगबाट उत्पादित निर्माण सामग्री छुट मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ। यसबाट विपद्पछि आवश्यक पर्ने पूर्वाधार पुनर्निर्माणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत, उद्धार तथा मानवीय सेवाका क्षेत्रमा गरिएको सहयोगले विपद्बाट प्रभावित नागरिकलाई केही राहत पुग्ने निर्देशक रुङ्गटाले विश्वास व्यक्त गरे।
उनले विपद्को समयमा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्दै प्रभावित नागरिकको जीवन सहज बनाउन सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।