बाढी–पहिरो प्रभावित तथा विशेषगरी भोटेकोशी बाढीपीडितको सहयोगार्थ बैंकर्स एसोसिएसन वीरगञ्जले आयोजना गरेको रक्तदान कार्यक्रममा ९ महिलासहित १ सय ११ जनाले रक्तदान गरेका छन्।
बैंकर्स एसोसिएसन वीरगंजका अध्यक्ष रोहिणी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दहाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै सीडीओ दहालले रक्तदानजस्तो मानवीय सेवाले संकटका बेला आवश्यक पर्ने रगतको अभाव पूर्ति गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले विपद्का समयमा रक्तदान तथा अन्य मानवीय सेवाका गतिविधि अझ प्रभावकारी हुने धारणा राखे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष हरि गौतम, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, युवा नेता अरविन्द सिंहलगायतको विशिष्ट आतिथ्यता रहेको थियो। वीरगञ्जस्थित विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।
रक्तदान कार्यक्रमलाई रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेको प्राविधिक सहयोग रहेको थियो । रक्तसञ्चार केन्द्रको टोलीले रक्तदाताहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै रक्त संकलनको व्यवस्थापन गरेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका कोषाध्यक्ष अभिलाष गुप्ताको समेत विशेष उपस्थिति रहेको थियो ।
बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवामा जोड्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रमले विपद्को समयमा आवश्यक सहयोग पुर्याउनुका साथै रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नसमेत योगदान पुगेको आयोजकले जनाएको छ ।