बारा । बाराको विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय बालकको अपहरणपछि भारत लगेर हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मृतक बालक राजेश कुमार साहकै गाउँका १७ वर्षीय किशोर रहेका छन्। प्रहरीले अनुसन्धानका क्रममा ती किशोरले बालकलाई अपहरण गरी भारतको मोतिहारी पुर्याएर हत्या गरेको खुलेको जनाएको छ।
प्रहरीका अनुसार राजेश भदौ ९ गते बिहान करिब ९ बजेबाट परिवारको सम्पर्कबाट बाहिरिएका थिए। बालक लामो समयसम्म घर नफर्किएपछि परिवारले सोही दिन प्रहरी चौकी मुसहर्वामा जानकारी गराएका थिए। त्यसपछि प्रहरीले खोजी तथा अनुसन्धानलाई तीव्र बनाएको थियो।
खोजीका क्रममा भदौ ११ गते बिहान करिब १०ः३० बजे भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको नुनयाडी पञ्चायत–१ स्थित सिंहा नदी किनारमा बालक मृत अवस्थामा फेला परेका थिए।
बालक भारतमा मृत फेला परेपछि बारा प्रहरीले घटनाको अनुसन्धानलाई थप गम्भीर बनाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले विभिन्न स्थानका सीसीटीभी फुटेजको विश्लेषण, स्थानीयवासीसँग सोधपुछ तथा भारतीय प्रहरीसँग समन्वय गरी घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।
अनुसन्धानबाट विश्रामपुर–३ मुसहर्वाकै १७ वर्षीय किशोरले बालकलाई अपहरण गरी भारतको मोतिहारी पुर्याएको र त्यहीँ हत्या गरेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ९डीएसपी० मिनबहादुर घलेले जानकारी दिए।
प्रहरीले किशोरलाई पक्राउ गरी अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरेको छ। पक्राउ परेका किशोरलाई जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारण, हत्या गर्नुको उद्देश्य तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको छ। बालकको अपहरणपछि सीमापारि लगेर हत्या भएको घटनाले स्थानीयस्तरमा समेत त्रास र चिन्ता बढाएको छ।