रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन पर्साको धोबीनी गाउँपालिकाले ५ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
धोबीनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले सामाजिक सञ्जालमार्फत बाढीपीडितका लागि गाउँपालिकाको तर्फबाट उक्त रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो । रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएको अवस्थामा पीडित परिवारलाई राहत पुर्याउने उद्देश्यले गाउँपालिकाले आर्थिक सहयोग गर्न लागेको अध्यक्ष चौहानले बताउनुभएको छ ।
प्राकृतिक विपत्तिको कठिन अवस्थामा रसुवाका बाढीपीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गाउँपालिकाले सहयोगको हात अघि बढाएको उहाँको भनाइ छ । उहाँले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा आवश्यक मानवीय सहायता उपलब्ध गराउन सम्बन्धित निकायलाई समेत आग्रह गर्नुभएको छ ।
गाउँपालिकाले उपलब्ध गराउने ५ लाख ११ हजार रुपैयाँबाट बाढीपीडितका लागि आवश्यक राहत सामग्री तथा अन्य मानवीय सहयोगमा केही सहजता पुग्ने अपेक्षा गरिएको छ । अध्यक्ष चौहानले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै स्थानीय तह, संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई समेत सहयोगका लागि अघि बढ्न आह्वान गर्नुभएको छ ।
रसुवामा बाढीपछि उद्धार, खोजी तथा राहत वितरणको कार्य जारी रहेका बेला धोबीनी गाउँपालिकाले गरेको आर्थिक सहयोगको घोषणालाई स्थानीय तहबाट विपद्का पीडितका लागि गरिएको मानवीय सहयोगका रूपमा लिइएको छ ।