वीरगंज । वीरगञ्ज महानगरपालिकाले सडक, विद्युत् पोल तथा सार्वजनिक स्थानमा जथाभावी रूपमा टाँगिएका इन्टरनेट तथा टेलिभिजन केवलका तार हटाउने अभियान सुरु गर्ने भएको छ। लामो समयदेखि अव्यवस्थित अवस्थामा रहेका तारका कारण नगरको सौन्दर्य बिग्रिनुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै महानगरपालिकाले तार व्यवस्थापनलाई अभियानकै रूपमा अघि बढाउन लागेको हो।
महानगरपालिकाले बिहीबारदेखि पहिलो चरणमा शंकराचार्य गेटदेखि छपकैया क्षेत्रको ईदगाह चोकसम्मका सडक तथा सार्वजनिक स्थानमा रहेका अव्यवस्थित तार हटाउने तयारी गरेको छ। प्रयोगमा नरहेका तथा अनावश्यक तार हटाइनेछ भने सञ्चालनमा रहेका आवश्यक तारलाई निश्चित मापदण्डअनुसार व्यवस्थित गरिने महानगरपालिकाले जनाएको छ।
अभियान कार्यान्वयनका लागि महानगरपालिकाको प्रशासन शाखा प्रमुख विजय गुप्ताको अध्यक्षतामा इन्टरनेट तथा टेलिभिजन केवल सेवा प्रदायक संस्थाका प्रतिनिधिसँग छलफलसमेत गरिएको थियो। बैठकमा सात वटा इन्टरनेट सेवा प्रदायक र एउटा टेलिभिजन केवल सेवा प्रदायक संस्थाका प्रतिनिधिको सहभागिता रहेको महानगरपालिकाले जनाएको छ।
छलफलका क्रममा महानगर क्षेत्रभित्र जथाभावी रूपमा टाँगिएका तारको पहिचान गरी हटाउने तथा प्रयोगमा रहेका तारलाई व्यवस्थित गर्ने सहमति भएको छ। सेवा प्रदायक संस्थाहरूलाई आफ्ना तार व्यवस्थित गर्न सहकार्यका लागि आग्रह गरिएको छ।
महानगरपालिकाले अभियानमा सहयोग नगर्ने तथा पटक–पटक बोलाउँदा पनि छलफलमा अनुपस्थित हुने सेवा प्रदायक संस्थामाथि प्रचलित कानुन तथा महानगरपालिकाको नियमअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।
वीरगञ्जका मुख्य सडक तथा बजार क्षेत्रमा एउटै पोलमा दर्जनौँ तार गुजुल्टिएर रहेका छन्। कतिपय तार प्रयोगमा छन् भने कतिपय लामो समयदेखि प्रयोगविहीन अवस्थामा समेत रहेका छन्। यसले शहरको दृश्यलाई अस्तव्यस्त बनाउनुका साथै तार चुडिने, सडकमा खस्ने तथा पैदलयात्री र सवारीसाधनमा जोखिम निम्तिने सम्भावना बढाएको महानगरको भनाइ छ।
महानगरपालिकाले तार व्यवस्थापनलाई केवल नगर सौन्दर्यसँग मात्र नभई सडक सुरक्षा र शहरी पूर्वाधार व्यवस्थापनसँग जोडेको छ। अभियानबाट सार्वजनिक स्थानमा रहेको तारको अव्यवस्था हट्ने र सेवा प्रदायकका पूर्वाधारसमेत व्यवस्थित हुने अपेक्षा गरिएको छ।
पहिलो चरणको काम सम्पन्न भएपछि आवश्यकता र प्राथमिकताका आधारमा वीरगञ्ज महानगरपालिकाका अन्य क्षेत्रमा पनि अभियान विस्तार गरिने महानगरपालिकाले जनाएको छ।