सिमरा । प्राकृतिक विपद्मा परेका परिवारको राहत तथा पुनःस्थापनाका लागि सूर्य नेपाल प्रालि सिमरा प्रतिष्ठानमा कार्यरत श्रमिकहरूले आफ्नो एक दिनको पारिश्रमिक सहयोग गरेका छन्। श्रमिकहरूको स्वेच्छिक योगदानबाट २ लाख २७ हजार ६ सय ५५ रुपैयाँ संकलन भएको हो।
प्रतिष्ठानमा कार्यरत २२५ जना श्रमिकले आफ्नो एक दिनको आधारभूत तलबबाट रकम कट्टा गर्न सहमति जनाएपछि उक्त रकम संकलन गरिएको मजदुर नेता बेनी तिमल्सिनाले जानकारी दिए। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको उनले बताए।
रसुवा, नुवाकोट र धादिङमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले श्रमिकहरूले आफ्नो आम्दानीको एक दिन बराबरको रकम सहयोग गरेका हुन्।
विपद्का कारण विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भइरहेका बेला प्रभावित परिवारको पीडामा साथ दिन श्रमिकहरूले स्वेच्छिक रूपमा सहयोग रकम जुटाएको मजदुर नेताहरूले बताएका छन्। उनीहरूका अनुसार आफ्नो श्रमबाट प्राप्त आम्दानीको केही हिस्सा विपद्मा परेका परिवारका लागि छुट्याउनु सामाजिक उत्तरदायित्वप्रतिको ऐक्यबद्धता हो।
नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन ९आधिकारिक युनियन० र समग्र उद्योग ट्रेड युनियन नेपालको पहलमा सहयोग रकम संकलन गरिएको हो। भदौ १७ गते सूर्य नेपाल सिमरा प्रतिष्ठानमा आयोजित कार्यक्रममा राहतका लागि संकलित रकमको चेक तथा भौचर जीतपुर–सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीलाई हस्तान्तरण गरिएको मजदुर नेता प्रेम बस्नेतले बताए।
कार्यक्रममा श्रमिक प्रतिनिधिहरूले प्राकृतिक विपद्का समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउनु सबैको सामाजिक दायित्व भएको बताएका थिए। विपद्को पीडामा रहेका परिवारलाई तत्काल राहत उपलब्ध गराउन आफ्नो क्षमता अनुसार योगदान गर्नु मानवीय जिम्मेवारी भएको उनीहरूको भनाइ थियो।
नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियनका अध्यक्ष देवेन्द्र सिटौलाले कठिन परिस्थितिमा रहेका परिवारलाई केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले श्रमिकहरूबीच स्वेच्छिक रूपमा सहयोग रकम संकलन गरिएको बताए।
“विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सबैको दायित्व हो। श्रमिकहरूले आफ्नो एक दिनको पारिश्रमिकबाट गरेको यो सहयोगले प्रभावित परिवारको पीडामा थोरै भए पनि मल्हम लगाउने विश्वास छ,” उनले भने।
उद्योगमा कार्यरत श्रमिकहरूले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सहयोग गर्दै आएको युनियनले जनाएको छ। सरकारी राहत कोषमा जम्मा गरिएको रकम प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा उपयोग हुने विश्वास व्यक्त गर्दै श्रमिकहरूले विपद्को समयमा सहयोग र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।