रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि थारू कल्याणकारिणी समिति, पर्साले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
समितिले विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले १५ हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
थारू कल्याणकारिणी समिति, पर्साका अध्यक्ष भागवत प्रसाद थारूको पहलमा उक्त सहयोग रकम उपलब्ध गराइएको समितिले जनाएको छ। विपद्को कठिन परिस्थितिमा पीडित तथा प्रभावित नागरिकप्रति सामाजिक उत्तरदायित्व बहन गर्दै मानवीय सहयोग गरिएको समितिको भनाइ छ ।
समितिका सचिव मनोज चौधरीले सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिनुभयो। उहाँले विपद्का समयमा पीडित नागरिकलाई सक्दो सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताउनुभयो ।
समितिले सहयोग रकम जम्मा गरिएको बैंक भौचरसमेत सार्वजनिक गरेको जनाएको छ । साथै, आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो भूमिका निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ ।