स्वास्थ्य सेवामा मानवीय संवेदना, संस्थागत समन्वय र व्यावसायिक कार्यकुशलता अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरस्थित मेडिसिटी वयोधा अस्पतालमा विशेष उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।
ज्ञानदा एकेडेमी (GYANDA Academy) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रिन्सिपल राजेन्द्र प्रसाद कोइरालाद्वारा सञ्चालित कार्यक्रममा अस्पतालका ३५ जनाभन्दा बढी वरिष्ठ चिकित्सक, प्रशासनिक अधिकारी तथा नर्सिङ कर्मचारीको सहभागिता रहेको थियो । अस्पतालका उपाध्यक्ष विजय रिमालको समन्वय तथा नेतृत्वमा आयोजित कार्यक्रम करिब दुई घण्टासम्म सञ्चालन भएको थियो ।
कार्यक्रममा अस्पतालको आन्तरिक कार्यप्रणाली, प्रशासन र नर्सिङबीचको समन्वय तथा कार्यस्थलमा उत्पन्न हुने मानसिक तनाव व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रमको पहिलो सत्र ‘One Team, One Pulse: Elevating Admin and Nursing Synergy’ शीर्षकमा केन्द्रित थियो । उक्त सत्रमार्फत प्रशासन र नर्सिङ टोलीबीच प्रभावकारी समन्वय कायम गर्दै अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइएको थियो ।
त्यस्तै, दोस्रो सत्र ‘The Five Devils of Psychological Sabotage’ शीर्षकमा सञ्चालन गरिएको थियो । यस सत्रमा कार्यस्थलमा देखिने मानसिक तनाव, नकारात्मक सोच तथा व्यक्तिगत र व्यावसायिक सफलतामा अवरोध सिर्जना गर्ने मनोवैज्ञानिक पक्षलाई पहिचान गरी त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमपछि सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रशिक्षणले छोटो समयमै सकारात्मक ऊर्जा र उत्साह प्रदान गरेको प्रतिक्रिया दिएका थिए । उनीहरूले कार्यक्रमलाई केवल तालिमका रूपमा नभई आत्मविश्वास र मनोबल अभिवृद्धि गर्ने प्रभावकारी सत्रका रूपमा लिएको बताएका छन् ।
ज्ञानदा एकेडेमी र मेडिसिटी वयोधा अस्पतालबीचको सहकार्यलाई संस्थागत विकास तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धितर्फको प्रयासका रूपमा लिइएको छ । आगामी दिनमा पनि यस्ता व्यावसायिक तथा सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै स्वास्थ्य सेवाको गुणस्तरलाई थप उचाइमा पुर्याउने लक्ष्य दुवै संस्थाले राखेका छन् ।
कार्यक्रमले अस्पतालमा ‘एकता नै शक्ति हो’ भन्ने भावनालाई थप बलियो बनाउँदै चिकित्सक, नर्सिङ तथा प्रशासनिक टोलीबीच सहकार्य र समन्वयको वातावरण निर्माण गर्न योगदान पुर्याएको आयोजकको भनाइ छ ।