कर्णाली राजमार्गमा गुडिरहेको फोर्स गाडीमा अचानक आगलागी हुँदा चालकको सतर्कताले तीन बालबालिकासहित २१ जना यात्रुको ज्यान जोगिएको छ। आगलागीबाट गाडी र यात्रुका सामान भने पूर्ण रूपमा नष्ट भएका छन्।
बुधबार अपराह्न करिब ४ बजे कालीकोटको खाडाचक्र नगरपालिका–१, मान्मस्थित जिल्ला अस्पतालको उकालोमा उक्त घटना भएको हो । सुर्खेतबाट नाग्मका लागि छुटेको भे १ ख ४०९४ नम्बरको गाडीमा इन्जिन तातिएपछि आगलागी भएको बताइएको छ ।
गाडी गुडिरहेका बेला अचानक धुवाँ देखिएपछि चालक चन्द्रदेव मगरले तत्काल यात्रुलाई बाहिर निस्कन आग्रह गरेका थिए। चालकको सतर्कताका कारण गाडीमा सवार तीन बालबालिकासहित २१ जना यात्रु सुरक्षित रूपमा बाहिर निस्कन सफल भए। यसबाट सम्भावित मानवीय क्षति हुन पाएन ।
आगलागीको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कालीकोटबाट १५ जना प्रहरीको टोली चारवटा आगो निभाउने उपकरणसहित घटनास्थल पुगेको थियो। प्रहरीले आगो निभाउने प्रयास गरे पनि गाडी र यात्रुका सामान जोगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिमबहादुर खत्रीले बताए ।
घटनाका प्रत्यक्षदर्शी विपिन शाहीले गुडिरहेको गाडीमा आगलागी भएको घटना आफूले पहिलो पटक देखेको बताएका छन् ।
गाडीमा सवार एक यात्रुका अनुसार चालकले आगलागी भएको जानकारी गराएलगत्तै सबै यात्रु बाहिर निस्किएका थिए। गाडी तीव्र गतिमा चलाइएकाले इन्जिन तातिएको हुन सक्ने उनले अनुमान गरेका छन् ।
आगलागीबाट गाडी र यात्रुका सामानमा ठूलो क्षति भए पनि चालकको समयमै देखाएको सतर्कताका कारण सबै यात्रु सकुशल रहन सफल भएका छन् ।