पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको शीघ्र पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई राज्यले प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस वर्षको वर्षायाम नेपालीका लागि सुखद नरहेको उल्लेख गरेका छन् । भोटेकोशीमा आएको बाढी, अविरल वर्षा तथा दसैंको मुखमा आएको बुढीगण्डकीको बाढीले विभिन्न क्षेत्रका नागरिकलाई प्रभावित बनाएको उनले बताएका छन् ।
प्राकृतिक विपद्बाट उत्पन्न दुःख र पीडा न्यूनीकरण गर्न पूर्वतयारी तथा सावधानी अपनाउनुपर्नेमा जोड दिँदै पूर्वराजा शाहले प्रकृतिको सन्तुलन र संरक्षणलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताएका छन्। विपद्का कारण उत्पन्न समस्यासँग जुध्न सही शक्ति र सद्बुद्धिको प्रयोग गर्दै शोकलाई शक्तिमा र निराशालाई आशामा बदल्नुपर्ने उनको भनाइ छ ।
उनले जनताको पीडा नै देश र राज्यको साझा पीडा भएको उल्लेख गर्दै विपद् प्रभावित नागरिकको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। पुनर्निर्माणका क्रममा बाह्य सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्पराको संरक्षण हुने गरी कूटनीतिक चातुर्य अपनाउनुपर्ने पनि उनले बताएका छन् ।
नेपाल भूगोल मात्र नभई साझा इतिहास, आस्था, संस्कृति, परम्परा र पहिचानको प्रतीक भएको उल्लेख गर्दै पूर्वराजा शाहले कठिन परिस्थितिमा आपसी भाइचारा कायम राख्नुपर्नेमा जोड दिएका छन्। एक क्षेत्रका नागरिकको पीडामा अर्को क्षेत्रका नागरिकले साथ दिनु र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु नै साँचो देशभक्ति भएको उनले बताएका छन् ।
शुभकामना सन्देशमा पूर्वराजा शाहले देशको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक तथा व्यावसायिक क्षेत्रमा देखिएको अन्योलप्रति चिन्ता व्यक्त गरेका छन्। राज्य प्रणालीलाई सही दिशामा अघि बढाउने, प्रजातान्त्रिक आधारलाई बलियो बनाउने र अर्थतन्त्रलाई उकास्ने विषयमा गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ ।
विद्यमान अन्योल अन्त्य गर्दै प्रजातान्त्रिक विधि र प्रक्रियालाई सुदृढ बनाउनुपर्ने उल्लेख गर्दै उनले बदलिँदो विश्व परिवेश र भूराजनीतिक परिस्थितिमा राष्ट्रियता तथा मौलिक मूल्यलाई थप दृढ बनाउन आवश्यक रहेको बताएका छन्। राज्य सञ्चालनमा अघि बढेको नयाँ पुस्ताले देशवासीको मुहारमा खुसी ल्याउने अपेक्षासमेत उनले व्यक्त गरेका छन् ।
नेपालीको मनमा करुणा, समाजमा सद्भाव र देशभक्तिको भावना बलियो बनोस् भन्ने कामना गर्दै पूर्वराजा शाहले विभाजित नभई एकताबद्ध, परनिर्भर नभई आत्मनिर्भर तथा कमजोर नभई सबल र सक्षम नेपाल निर्माण गर्ने सोच सबैमा जागृत हुनुपर्ने बताएका छन्।