बडादसैंको पाँचौँ दिन आज दसैंघर तथा घरघरका पूजाकोठामा नवदुर्गामध्येकी पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गरिँदै छ ।
हरेक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा रहेको छ। वैदिक सनातन धर्मावलम्बीले नवरात्रका अवसरमा दुर्गाका नौ स्वरूपको पूजा–आराधना गर्ने गर्छन्। धार्मिक विश्वासअनुसार देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ ।
घटस्थापनासँगै सुरु हुने नवरात्रमा नौ दिनसम्म देवीका विभिन्न स्वरूपको पूजा गरिन्छ। यस क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको पूजा गर्ने परम्परा छ ।
त्यस्तै, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ। देवीका यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने चलन छ । दसैं सुरु भएसँगै देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआजा र दर्शनका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।
काठमाडौं उपत्यकाका नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा र नरदेवीलगायतका मन्दिरमा पनि दसैंका अवसरमा विशेष पूजाआजा गरिन्छ। यी मन्दिरलाई रङ्गीचङ्गी बत्तीले सजाएर दसैंको रौनक थप्ने गरिन्छ ।
नवरात्रलाई शक्ति उपासनाको विशेष समयका रूपमा लिने धार्मिक परम्पराअनुसार भक्तजनले दुर्गा भवानीको आराधना गर्दै दसैं मनाइरहेका छन् ।