नेपालीको महान् पर्व बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै दसैँको पहिलो दिन घरघरमा जमरा राखेर दुर्गा भवानीको पूजा आराधना गरिँदैछ ।
बडादसैँ आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाउने परम्परा छ। घटस्थापनाका दिन पूजा कोठा वा दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिअनुसार शक्तिस्वरूपा दुर्गा देवीको आह्वान गरिन्छ ।
आज बिहान नित्यकर्म सम्पन्न गरेपछि चोखो माटो वा बालुवा राखिएको स्थानमा जौँ रोपेर जमरा राख्ने चलन छ। विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। पहेँलो जमरालाई समृद्धि र शुभताको प्रतीकका रूपमा लिने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ। सूर्योदयकालमा प्रतिपदा तिथि परेका दिन घटस्थापना गर्ने शास्त्रीय मान्यताअनुसार आजकै दिन घटस्थापना गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीका रूपमा दुर्गा देवीको पूजा आराधना गरिन्छ। नौ दिनसम्म क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ ।
दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। यस अवसरमा देशभरका शक्तिपीठ तथा भगवती मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।
बडादसैँको सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीमा विशेष पूजा आराधना गरिन्छ। विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दसैँ मनाउने गरिन्छ ।
दसैँलाई धार्मिक तथा सांस्कृतिक पर्वका साथै पारिवारिक पुनर्मिलनको अवसरका रूपमा समेत लिइन्छ। रोजगारी, अध्ययन र अन्य कामका सिलसिलामा घरबाहिर रहेका मानिसहरू यस पर्वमा आफ्नो घर फर्किने भएकाले सहरबाट गाउँ जाने यात्रुको चहलपहलसमेत बढ्ने गर्छ ।