काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास निर्माणको ढाँचा, गति र संस्कृतिमा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले 'जहिल्यै काम भइरहने तर कहिल्यै नसकिने' प्रवृत्तिलाई अन्त्य गर्ने घोषणा गरेका हुन् ।
गत वर्ष उल्लेख गरिएको ‘वर्क इन प्रोग्रेस’ प्रवृत्तिको पुनः स्मरण गर्दै उनले यसलाई परिवर्तन नगरी मुलुकको विकास सम्भव नरहेको बताए । सीमित स्रोतहरूको अधिकतम उपयोग गर्दै परिणाममुखी योजना र कार्यान्वयनमा ध्यान दिने नीति ल्याएको जनाउँदै उनले विगतमा घोषित पूर्वाधार परियोजनाको प्राथमिकता पुनः निर्धारण गरिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले अबका नयाँ परियोजनाहरू संभाव्यता, जोखिम मूल्यांकन, नगद प्रवाह र कानुनी सुरक्षा हुने स्पष्ट बिजनेस प्लानका आधारमा अघि बढाइने बताए ।
थालिएको काम सक्ने नीति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना पुनरावलोकन हुने, चालु परियोजनाहरू आर्थिक वर्ष २०८२/८३ वा प्रतिनिधिसभाको कार्यकालभित्र सम्पन्न गरिने गरी वर्गीकरण गरिएको उनले स्पष्ट पारे ।
त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम पुनर्संरचना गर्ने, स्टार्टअप र उद्यमशीलता प्रवद्र्धनमा बजारसम्मको चक्रलाई ध्यानमा राख्ने नीति पनि अघि सारिएको जानकारी उनले दिए ।