पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसियामा नेपाली कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा अर्याललाई पक्राउ गरिएको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार अर्याल पक्राउ परेको पुष्टि भएको छ। मन्त्रालय स्रोतले यसबारे थप विवरण पछि सार्वजनिक गरिने जनाएको छ । यद्यपि, उनलाई कहाँबाट र कहिले पक्राउ गरिएको हो भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।
मलेसियामा कामदार पठाउने प्रक्रियामा अवैध रकम संकलन तथा आर्थिक अनियमितता भएको आरोपमा यसअघि पनि विभिन्न उच्चपदस्थ व्यक्तिहरू पक्राउ परिसकेका छन् ।
यस प्रकरणमा तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना यसअघि नै पक्राउ परेका छन् ।
उनीहरूमाथि ठगी तथा संगठित अपराधको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।
यसै प्रकरणमा पूर्वमुख्यसचिव अर्यालसमेत पक्राउ परेपछि मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको आर्थिक अनियमितताको अनुसन्धान थप पेचिलो बनेको छ ।
प्रहरीले घटनासँग सम्बन्धित थप विवरण तथा अनुसन्धानको प्रगतिबारे भने सार्वजनिक गर्न बाँकी छ ।