वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित होटल सूरजमा सञ्चालित फर्चुन सिटी गेमिङ क्लब क्यासिनोमा पर्सा प्रहरीले छापा मारेको छ । बिहीबार राति प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको निर्देशनमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताको संयुक्त टोलीले क्यासिनोमा छापा मारेको हो ।
प्रहरीको छापाका क्रममा क्यासिनोभित्र जुवा खेलिरहेको अवस्थामा १० जनाभन्दा बढी नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ । यद्यपि पक्राउ परेकाहरूको पहिचान, संख्या र उनीहरूमाथि गरिने कारबाहीबारे प्रहरीले अहिलेसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन ।
क्यासिनोमा नेपाली नागरिकको प्रवेश तथा जुवा खेल्ने सहभागिता निषेध रहेपनि वीरगंजका केही क्यासिनोमा यस्तो गतिविधि नियन्त्रण हुन नसकेको घटनाले प्रश्न उठाएको छ । नेपाली नागरिकको प्रवेश रोक्ने कानुनी व्यवस्थाका बाबजुद उनीहरू क्यासिनोभित्र पुगेर जुवा खेलिरहेको अवस्थामा पटक–पटक पक्राउ पर्नुले क्यासिनो व्यवस्थापन र अनुगमन प्रणालीमाथि समेत प्रश्न खडा गरेको छ ।
यसअघि पनि पर्सा प्रहरीले वीरगंजको गण्डकस्थित होटल क्लार्क रिसोर्टमा सञ्चालित क्यासिनोमा दुई पटक छापा मारेर नेपाली नागरिकलाई पक्राउ गरिसकेको छ । पटक–पटक प्रहरी कारबाही हुँदा पनि क्यासिनोमा नेपाली नागरिकको प्रवेश र सहभागिता नरोकिएको देखिन्छ ।
फर्चुन सिटी क्यासिनोमा भएको पछिल्लो छापाले वीरगंजमा सञ्चालित क्यासिनोहरूको निगरानी, नेपाली नागरिकको प्रवेश नियन्त्रण र नियम उल्लंघन गर्नेमाथिको कारबाही कति प्रभावकारी छ भन्ने विषयलाई फेरि चर्चामा ल्याएको छ ।