काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा ठोस परिवर्तन ल्याउने गरी गम्भीरतापूर्वक काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकारी र मातहतका निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, विकसित र समृद्ध नेपाल निर्माणका लागि सबै मन्त्रालयले उचित समन्वयसहित सक्रिय योगदान दिनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब लर्याङतर्याङ गरेर हुँदैन। सरकार त यसै पनि चल्छ, तर देशमा परिवर्तन ल्याउन कामको गति बढाउनुपर्छ । स्वच्छता, पारदर्शिता र सुशासनका क्षेत्रमा व्यापक सुधार गर्दै जनतालाई प्रभावकारी सेवा र सुविधा दिनुपर्छ। विकासका काममा तीव्रता दिनुपर्छ ।”
उहाँले अवरोध हटाउने, प्रविधि र दक्षताको प्रयोग गर्ने र दिगो विकासका लक्ष्य पूरा गर्न सबै जिम्मेवार निकायले तदारुकतापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न र सम्पत्ति शुद्धिकरणको ‘ग्रे लिष्ट’ बाट हटाउन आवश्यक कदम चाँडै चाल्न आग्रह गर्नुभयो ।
भिडियाे सामाग्री