वीरगंज — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीरगंज महानगरपालिकामा हैजा (Cholera) प्रमाणित भइसकेको अवस्था नरहेको स्पष्ट पारेका छन् ।
सोमबार वीरगंज आइपुगेका मन्त्री पौडेलले नारायणी अस्पतालमा आयोजित छलफल कार्यक्रममा बोल्दै हैजा प्रमाणित हुन कम्तीमा ७२ घण्टा लाग्ने बताउँदै सम्भवतः सोमबार रातिसम्म रिपोर्ट आउन सक्ने जानकारी दिए ।
मन्त्री पौडेलले सूचना प्रवाह र औषधि वितरणलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्न आग्रह गरे । विभिन्न माध्यमबाट आ–आफ्नै ढंगले समाचार सम्प्रेषण हुँदा एकरूपता नदेखिएको भन्दै उनले यसलाई एकीकृत प्रणालीमार्फत जानकारी दिन सुझाए । औषधि वितरणमा पनि त्यस्तै प्रणाली अपनाउनुपर्नेमा उनले जोड दिए ।
उनका अनुसार महानगरका प्रभावित वडाहरूमा झाडापखालाको अवस्था क्रमशः नियन्त्रणतर्फ गएको छ । हालसम्म १०४ जना बिरामी देखिएका छन् । उनले महानगरका अस्पतालमा अन्य स्थानका बिरामी पनि उपचाररत भएकाले डिस्चार्ज भएपछि उनीहरू मार्फत अन्यत्र रोग फैलन सक्ने खतरा रहेको भन्दै स्वास्थ्यकर्मीलाई सतर्क रहन निर्देशन दिएका छन् ।
झाडापखालाको मूल कारण अझै पत्ता नलागेको भन्दै मन्त्री पौडेलले खानेपानी दूषित कसरी भयो भन्ने विषयमा खानेपानी संस्थान तथा स्वास्थ्य निकायसँग समन्वय गरी कारण पत्ता लगाउन महानगरलाई आग्रह गरे ।
सङ्क्रमण फैलन नदिन सचेतनामूलक कार्यक्रम सञ्चालनमा विशेष ध्यान दिनुपर्ने मन्त्री पौडेलको भनाइ थियो । उनले सरसफाइको अभ्यासलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै दिसापिसाब गरेपछि र खाना खानु अघि–पछाडि साबुनपानीले हात धुनुपर्ने बताए ।
कार्यक्रममा मधेस प्रदेशका कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षत्री, चिकित्साशास्त्र अध्ययन संस्थान वीरगंजकी प्रमुख डा. कल्पना पौडेल, चिकित्सक डा. नीरज सिंह र डा. उदयनारायण सिंहलगायतले आफ्नो धारणा राखेका थिए ।
मेसु डा. चुमनलाल दासले नारायणी अस्पतालमा झाडापखाला सम्बन्धी अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।