विश्व दृष्टि दिवसको अवसरमा पर्सा जिल्लाका प्रहरी कर्मचारीहरूलाई लक्षित गर्दै निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा र रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल, वीरगंजको संयुक्त आयोजनामा बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय पर्साको सभा हलमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
शिविरमा नेत्र अधिकृत कौशल कुमार कर्ण, नेत्र सहायक अधिकृत सन्तोष ठाकुर, नेत्र सहायक अधिकृत आशा साह र अस्पताल व्यवस्थापक प्रकाश कुमार वर्मासहितको टोलीले प्रहरी कर्मचारीहरूको आँखा परीक्षण गरी सेवा प्रदान गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, शिविरमा सहभागी १८५ जना प्रहरीमध्ये १०२ जनालाई चश्मा वितरण गरिएको छ भने ११३ जनालाई औषधि प्रदान गरिएको छ । परीक्षणका क्रममा १ जनामा मोतियाबिन्दु र १ जनामा उच्च दृष्टि दोष (High Power) रहेको पनि पाइएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, प्रहरी नायव उपरीक्षक किशोर लम्साल लगायत अन्य प्रहरी अधिकारी तथा कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको उद्देश्य प्रहरी कर्मचारीहरूको दृष्टि स्वास्थ्य सुदृढ बनाउने र सेवा प्रवाहमा उनीहरूको कार्यक्षमता थप प्रभावकारी बनाउने रहेको आयोजकले जनाएको छ ।
भिडियाे सामाग्री