नेपाली काङ्ग्रेसबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका अनिल रूँगटाले नेपाल दलित सङ्घ पर्साका पदाधिकारी तथा सदस्यहरूसँग संवाद गरेका छन् ।
संवादका क्रममा उम्मेदवार रूँगटाले दलित समुदायका समस्या, गुनासा र अपेक्षालाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफूले विगतदेखि नै दलित समुदायलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको दाबी गर्दै आगामी दिनमा पनि दलितका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताए । शिक्षा, रोजगारी, सामाजिक न्याय तथा समावेशी विकासका सवालमा कहिल्यै पछि नहट्ने उनले स्पष्ट पारे ।
नेपाल दलित सङ्घ पर्साका अध्यक्ष बुनेल रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका पूर्वसभापति अजयकुमार द्विवेदी, कार्यवाहक सभापति रामनारायण कुर्मी, अरविन्द गुप्ता, लक्ष्मण हजरा, कृष्ण राम, शर्मा सरभङ्ग, किरण सरकारलगायतले दलित समुदायको राजनीतिक सहभागिता अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।
यसैबीच, उम्मेदवार रूँगटाले आजै आफ्नै निर्वाचन क्षेत्रका बुथ सभापतिहरूसँग पनि संवाद गरेका छन् । सो अवसरमा उनले पार्टीको आधारस्तम्भ बुथ सङ्गठन र कार्यकर्ता भएको उल्लेख गर्दै बुथ सङ्गठन सक्रिय भए काङ्ग्रेसको जित सुनिश्चित हुने बताए ।
उनले वर्तमान समयमा सबैको साथ र सहयोग आवश्यक भए पनि बुथ सङ्गठनको भूमिका झनै प्रभावकारी हुने धारणा राखे । कार्यवाहक सभापति कुर्मीले पार्टी सङ्गठनलाई जरा तहदेखि मजबुत बनाउने अभियान अन्तर्गत यस्ता भेटघाट कार्यक्रम प्रभावकारी हुने बताए ।
नेपाली काङ्ग्रेस पर्साका पूर्वसभापति अजय द्विवेदीले काङ्ग्रेसको इतिहास, विचार र मूल्य–मान्यतालाई जोगाउँदै अगाडि बढ्ने जिम्मेवारी आजको पुस्ताको काँधमा रहेको उल्लेख गरे । उनले बुथदेखि केन्द्रसम्म एकता र सहकार्य कायम गर्दै चुनावी अभियानलाई अझ तीव्र बनाउन आग्रह गरे ।
यसै निर्वाचन क्षेत्रबाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफले पनि वीरगंज–१५ लक्ष्मनवा तथा वडा नं. ८ पानीटङ्की क्षेत्रमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् ।
उम्मेदवार सर्राफले वीरगंज औद्योगिक नगरी भए पनि स्थानीय युवाहरू बेरोजगार हुनुपरेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले देश र मधेसको निकासका लागि स्पष्ट भिजन भएका उम्मेदवार र दललाई मतदाताले सहयोग गर्नुपर्ने बताए ।