फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा थ्रेसहोल्ड पार गरेका ६ वटा राजनीतिक दलले आज कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउने भएका छन्।
तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट ९, श्रम संस्कृति पार्टीबाट ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ४ जना सांसद निर्वाचित भएका छन्।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी का अनुसार दलहरूले आफ्नो समूह अनुसारको प्रतिनिधित्व मिलाएर आज बेलुका ५ बजेसम्म उम्मेदवारको नाम पेश गर्नुपर्नेछ। उनले बताए अनुसार यदि नामावलीमा केही असंगति देखियो भने फेरि सच्याउने समय तोकिनेछ।
समानुपातिक प्रणालीअनुसार प्रतिनिधिसभामा १ सय १० जना सांसद निर्वाचित हुने कानूनी व्यवस्था छ। नेकपा एमालेले आफ्नो भागका सांसदहरू हिजो नै चयन गरिसकेको छ भने, रास्वपाले आज ४८ महिला र ९ पुरुष गरी ५७ जना उम्मेदवारको नामावली टुंगो लगाएको छ। आयोगले प्रमाणित गरेपछि मात्र सूची सार्वजनिक गर्ने बताइएको छ। नेपाली कांग्रेस र अन्य दलहरू अझै अन्तिम छलफलमा रहेका छन्।