प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाएको आरोपमा मधेस प्रदेशका चार जनासहित देशभरबाट ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लाका अनुसार, उम्मेदवारी दर्तादेखि मतदान सम्पन्न हुने अवधिसम्म १५ जिल्लाबाट ती व्यक्तिहरू पक्राउ परेका हुन्। प्रहरीले दिएको जानकारीअनुसार मधेस प्रदेशका सप्तरी, धनुषा, रौतहट र बारा जिल्लाबाट एक–एक जना पक्राउ परेका छन्।
देशभरमा सबैभन्दा धेरै काठमाडौँ जिल्लाबाट १६ जना पक्राउ परेका छन्। त्यस्तै बाँकेबाट ४ जना, दाङबाट ३ जना, चितवन र सल्याणबाट २–२ जना, तथा भक्तपुर, सुनसरी, मकवानपुर, कास्की, रुपन्देही र अछाम जिल्लाबाट एक–एक जना पक्राउ परेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत उम्मेदवारी दर्ता माघ ६ गते गरिएको थियो भने फागुन २१ गते मतदान सम्पन्न भएको थियो। प्रहरीका अनुसार सोही अवधिमा सामाजिक सञ्जालमा निर्वाचनसम्बन्धी भ्रम फैलाउने काममा संलग्न यी व्यक्तिहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।
यस घटनाले आगामी निर्वाचनमा डिजिटल प्लेटफर्ममा सचेतता आवश्यक रहेको र भ्रामक सूचनाबाट मतदातालाई भ्रमित हुनबाट रोक्नुपर्ने आवश्यकता स्पष्ट गरेको छ।