राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो भागमा परेका ५७ समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ। पार्टीका प्रवक्ता मनिष झाले अनुसार आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली अन्तिम रूप दिएको छ।
झाले जानकारी दिए अनुसार ५७ सांसदमध्ये खसआर्यबाट १७ जना, आदिवासी जनजातिबाट १६ जना र मधेशीबाट ९ जना छन्। यस्तै, दलितबाट ८ जना, थारुबाट ४ जना र मुस्लिम समुदायबाट ३ जना रहेका छन्।
उनले भने, “सिफारिस गरेका सांसदको सूची निर्वाचन आयोगले प्रमाणित गरी सार्वजनिक गर्नेछ। आयोगले रुजु गरेर ‘अप्रुभ’ गरेपछि मात्रै सार्वजनिक हुनेछ।”
संसदीय दलको नेता चयनको विषयमा आन्तरिक छलफल भइरहेको र पार्टी नेताहरू अस्वस्थ भएका कारण यस विषयमा केन्द्रीय समितिको बैठकबाट टुंगो केही दिनपछि मात्रै लाग्ने बताए।