समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्य चयन गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्ने जनाइएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक पहिलोपटक बस्न लागेको हो। पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकले निर्णय गर्नेछ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि पार्टी केन्द्रीय कार्यालयले निर्देशनअनुसार अनुरोध गरेको जनाएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट जितेको थियो।
पार्टी प्रवक्ता देवराज चालिसेले आइतबार नै समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाइने जानकारी दिए। उनका अनुसार बैठकमा अन्य विषयमा सामान्य छलफल हुन सक्ने भए पनि मुख्य कार्यसूची भने निर्वाचन आयोगमा सिफारिस गरिने समानुपातिक सदस्यहरूको नाम टुंग्याउने नै रहनेछ।